ओमान जाने नेपाली टोलीमा सागर ढकाल थपिए

 माघ २५, २०७८

काठमाडौं ।

टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्न ओमान जाने टोलीमा सागर ढकाल थपिएका छन् । यसअघि ओमान जाने टोलीमा १६ जनाको नाम मात्र घोषणा भएकामा सागरसमेत समावेश गरेर १७ खेलाडी ओमान जाने भएका छन् ।

कोभिड-१९ को असरको समय रहेकोले क्यानले ओमान टुरका लागि एक खेलाडी थप गरेको हो । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका सागर ढकाल पहिलो पटक सिनियर टिममा समावेश भएका हुन् ।

कप्तान सन्दीप सहित शाहब आलम रहेको स्पीन डिपार्टमेन्टमा अब सागर पनि थपिएका छन् । उमेर समूहको राष्ट्रिय टोली र घरेलु प्रतियोगितामा सागरले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

ओमान जाने नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, करण केसी, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, शाहब आलम, कमल सिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम र सागर ढकाल रहेका छन् । जसमध्ये लोकेश बम र विवेक कुमार यादव नयाँ हुन् ।

तपाईंको प्रतिक्रिया