सोनाक्षी सिन्हाविरुद्ध ठगी मुद्दामा पक्राउ पूर्जी जारी
मुम्बइ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध ४ वर्ष पुरानो ठगी मुद्दामा पक्राउ पूर्जी जारी गरिएको छ । उत्तर प्रदेशको मुरादाबादस्थित एसीजेएम अदालतले सोनाक्षीविरुद्ध पैसा लिएर पनि कार्यक्रममा उपस्थित नभएको भन्दै वारेन्ट जारी गरेको हो । सोनाक्षीले कार्यक्रममा सहभागी हुन ३७ लाख रुपैयाँ लिएकी थिइन् ।
पैसा लिएर पनि सोनाक्षी कार्यक्रममा उपस्थित भइनन् र कार्यक्रम आयोजकको पैसा फिर्ता नगरेको आरोप छ ।मुरादाबादको कटघर थाना क्षेत्रमा बस्ने कार्यक्रमका आयोजक प्रमोद शर्मा थिए जसमा सोनाक्षीलाई प्रमुख अतिथिका रूपमा निम्तो दिइएको थियो । त्यसपछि कार्यक्रमका आयोजक प्रमोदले अभिनेत्रीसँग आफ्नो पैसा फिर्ता मागेका थिए ।
सोनाक्षीका प्रबन्धकले कार्यक्रम आयोजकलाई पैसा दिन अस्वीकार गरेको आरोप लगाइएको छ । सोनाक्षी सिन्हालाई पटकपटक सम्पर्क गर्दा पनि आयोजकले पैसा नपाएपछि उनले २०१९ फेब्रुअरीमा अभिनेत्रीविरुद्ध ठगीको उजुरी दिए ।
सोनाक्षी यस विषयमा आफ्नो बयान लिन मुरादाबाद आएकी थिइन् । उनी अदालतमा लगातार उपस्थित हुन नसकेकाले यूपीको मुरादाबादस्थित एसीजेएम–४ को अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो । सोनाक्षीलाई सो विषयमा सुनुवाइका लागि अप्रिल २५ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ ।




तपाईंको प्रतिक्रिया