लिग टु क्रिकेट : नेपालले आज अमेरिकासँग खेल्ने

 जेठ २८, २०७९

काठमाडौं । अमेरिकामा भइरहेको नेपाल, अमेरिका र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

शृंखलामा दुवैले एक एक खेल खेलिसकेका छन् तर फरक नतिजा निकालेका थिए । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकाले भने पहिलो खेलमा ओमानमाथि फराकिलो जित निकालेको थियो ।

अमेरिका पहिलो खेलको लयलाई कायम राख्ने लक्ष्यमा रहँदा नेपालमा भने जितको खोजीमा हुनेछ । अमेरिकाले पहिलो खेलमा ओमानविरुद्ध तीन सय भन्दा बढी रन बनाएर ११४ रनको जित निकालेको थियो । नेपालले भने ब्याटिङमा सम्हालिन नसक्दा ओमानले दिएको २१२ रनको लक्ष्यसमेत पूरा गर्न सकेन ।

अमेरिकाविरुद्ध खेल्दा नेपालले ओपनिङदेखि नै ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यकता छ । नियमित ओपनिङ जोडी आसिफ शेख र कुशल भुर्तेल अमेरिकामा अभ्यासका क्रममा घाइते भएपछि सुनिल धमला र ब्याटअफका रुपमा अमेरिका पुगेका सुबास खकुरेलले ओमानविरुद्ध ओपनिङ गरेका थिए । तर यो जोडीले राम्रो सुरुवात गर्न सकेन ।

आसिफ र कुशल अमेरिकाविरुद्ध खेल्ने/नखेल्ने टुङ्गो लागिसकेको छैन । त्यसैले ब्याटिङ नै नेपालको लागि टाउको दुखाइ बनेको छ । आरिफ शेखले ६६ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झनलायक ब्याटिङ गर्न सकेका थिए । यस शृंखलामा नेपालले पहिलो जित निकाल्न ब्याटिङमा धेरै सुधार आवश्यक छ ।

तपाईंको प्रतिक्रिया