माओवादीको स्थायी कमिटी बैठकमा नेतृत्वका विषयमा बहस
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा नेतृत्व निर्माणका विषयमा बहस चलेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाडामा बसेको बैठकमा नेतृत्व विकास गर्ने विषयमा सैद्धान्तिक बहस चलेको प्रवक्ता अग्नि सापकोटाले बताए । सिद्धान्त, बिचार, नीतिमा राम्रो तयारी गरि नेतृत्व निर्माण गर्नुपर्नेमा छलफल चलेको उनले बताए । उनले स्थायी कमिटीमा चलेको बहसले केन्द्रीय कमिटीमा पनि निरन्रतता पाउने जानकारी दिए ।
केही दिन यता जारी स्थायी कमिटी बैठकमा स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार पार्नुपर्नेमा सदस्यहरुले जोड दिएको उनले बताए । त्यस्तै, जनताका समस्या र मुद्दाहरुमा केन्द्रीत भएर जनपरिचालन कार्यक्रम ल्याउनुपर्ने, नयाँ कार्यनीतिको विकास गर्नुपर्ने धारणा आएको प्रवक्ता सापकोटाले जानकारी दिए । माओवादी सरकारले सुरु गरेको सामाजिक न्यायसहितको सुशासनका कार्यक्रमहरुबाट सरकार पछि हट्ने देखिएकाले खवरदारी गर्नुपर्ने धारणाहरु समेत आएको उनको भनाइ छ ।




तपाईंको प्रतिक्रिया