तुलसीपुर–११ मा पूर्वाधार विकास देखि सामाजिक कार्यक्रमको सार्वजनिक सुनुवाइ
दाङ। तुलसीपुर उपमहानगरपालिका–११ ले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न भएका योजना तथा कार्यक्रमको विवरण सार्वजनिक गरेको छ। कार्यक्रममा वडा सचिव पदमकुमार भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
वडाले चालु आर्थिक वर्षमा ९८ लाख ९९ हजार ६ सय ९९ रुपैयाँ बजेटमध्ये ९७ प्रतिशत भौतिक र ९६.६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जनाएको छ। कुल ३६ योजनामध्ये ३५ वटा सम्पन्न भएका छन्।
प्रतिवेदनअनुसार बेलटाकुरा–गुहेन्द्री–मोतिपुर सडक स्तरोन्नति, बेलटाकुरा रिङ रोड कालोपत्रे, सडक मर्मत, सिसी क्यामेरा जडान र विद्यालय मर्मतलगायतका पूर्वाधार विकासका काम सम्पन्न भएका छन्।
साथै वडा अध्यक्ष कप फुटबल प्रतियोगिता, तिज मिलन, दलित सशक्तीकरण, बुहारी तथा ज्येष्ठ नागरिक सम्मान, छात्रवृत्ति, विद्यालय पोसाक सहयोग, योग तथा स्वास्थ्य प्रवर्द्धन र अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरणजस्ता सामाजिक कार्यक्रम पनि सञ्चालन गरिएको छ।
चालु आर्थिक वर्षमा वडाले ४३ लाख ४८ हजार ६ सय ६ रुपैयाँ राजस्व संकलन गरेको छ। नागरिकता, घरबाटो, चारकिल्ला, वैदेशिक प्रयोजनलगायत ३ हजार ६ सय ४१ वटा सिफारिस सेवा प्रदान गरिएको जानकारी दिइएको छ।
कार्यक्रममा स्थानीयवासीले विकास, सेवा प्रवाह र आगामी योजनाबारे सुझाव दिएका थिए। वडा अध्यक्ष मानबहादुर रावतले सीमित बजेटका बाबजुद शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिएको बताउँदै जनतासँगको सम्बन्ध सधैं नङ र मासुजस्तै रहने विश्वास व्यक्त गर्नुभयो।
वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार बसन्त परियारले गर्नुभएको थियो ।




तपाईंको प्रतिक्रिया