विद्यालय कर्मचारी परिषद् लुम्बिनी प्रदेश अध्यक्षमा पुनः घर्ती

 १६ घण्टा अगाडि

दाङ । नेपाल विद्यालय कर्मचारी परिषद्, लुम्बिनी प्रदेश समितिको अध्यक्षमा दाङका गोविन्द घर्ती पुनः चयन हुनुभएको छ। परिषद्को तेस्रो प्रदेश अधिवेशनबाट घर्तीको नेतृत्वमा नयाँ प्रदेश समिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा गुल्मीका शालिकराम पन्थी, महिला उपाध्यक्षमा दाङकी बसन्ता केसी र सचिवमा रुपन्देहीका कोपिल अधिकारी चयन हुनुभएको छ। त्यसैगरी, अर्थ सचिवमा गुल्मीका हिमालय केसी तथा सदस्यमा राम अवतार थारु, बिनिता पुन, श्रीराम पोखरेललगायत चयन हुनुभएको छ।

प्रदेश अध्यक्ष घर्तीको अध्यक्षता तथा परिषद्का केन्द्रीय अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो।

उद्घाटन सत्रमा केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, महासचिव शान्तिनाथ योगी, दाङ जिल्ला अध्यक्ष निम वलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण प्रदेश सचिव श्यामलाल कँवरले गर्नुभएको थियो।

नवनिर्वाचित समितिले विद्यालय कर्मचारीहरूको हकहित, अधिकार र पेसागत सम्मानका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिक्रिया