घोराहीका दुई स्थानमा जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ

 कार्तिक २९, २०८३

दाङ । दाङको घोराहीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले शनिबार साँझ घोराहीका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवा खेल भइरहेको सूचनापछि प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीको नेतृत्वमा टोली पुगेको थियो। प्रहरीले त्यहाँबाट ९ जनालाई पक्राउ गर्नुका साथै ४ लाख ८ हजार १ सय २० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको छ।

पक्राउ पर्नेमा घोराही–१४ का नवलसिंह डाँगी, घोराही–१३ का निमबहादुर भण्डारी, माडी गाउँपालिका–३ का तुलबहादुर खड्का र रामकृष्ण खड्का, घोराही–१८ का बसन्त बुढाथोकी, घोराही–१४ का यदुनाथ पाण्डे र निमेश भण्डारी, घोराही–१० का हिमराज केसी तथा नयाँबजारका चन्द्रदेव बुढा रहेका छन्।

यसैगरी घोराही उपमहानगरपालिका–१५ स्थित भुपबहादुर डाँगीको घरमा पनि प्रहरीले छापा मारेको थियो। त्यहाँबाट जुवातास खेलिरहेका ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त स्थानबाट १ लाख ४ हजार ५ सय ८० रुपैयाँ नगद र तीन गड्डी तास बरामद भएको छ।

दोस्रो स्थानबाट पक्राउ पर्नेमा केशरबहादुर पछाई, भुपबहादुर डाँगी, लुमासिंह बस्नेत, निमबहादुर पुन, गिरीराज केसी, ओबिन्द्र महरा, तारा डाँगी र हिरालाल रावत रहेका छन्।

प्रहरीका अनुसार दुवै स्थानबाट गरी ५ लाख १२ हजार ७ सय रुपैयाँ नगद र ६ गड्डी तास बरामद भएको छ। पक्राउ परेका १७ जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखेर थप अनुसन्धान भइरहेको छ।

तपाईंको प्रतिक्रिया