लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज
काठमाडौं ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज शुरु हुँदैछ । अविश्वास प्रस्तावमा निर्णय गर्न बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दै छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव आजकै बैठकमा पेश हुने छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित कुलप्रसाद केसीले प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
प्रस्तावमा विभिन्न दलका सांसदले आफ्नो धारणा राख्नेछन्। त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलले सोमबार जवाफ दिनेछन् । मुख्यमन्त्रीले जवाफ दिएपछि मतदान हुने कार्यसूची तय गरिएको छ । शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले कोरोना संक्रमणको कारण एकै दिनमा प्रस्तावको टुंगो लगाउन भनेका थिए । तर एमालेले असहमति जनाएपछि दुई दिनमा टुङ्गो लगाउने कार्यसूची तय गरिएको हो ।
बैशाख ६ गते कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेर प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । हस्ताक्षर गरेका मध्ये जनता समाजवादी पार्टीका चीन सांसद मन्त्री बनेका छन् । यी तीनसहित जसपाका चारजना पदमुक्त भइसकेका छन् ।
यस अघि ८७ सदस्य रहेको प्रदेशसभामा अब ८१ सांसद भएका छन् । अविश्वासको प्रस्ताव पारित हुन ४१ सांसद आवश्यक पर्दछ । सत्तारुढ नेकपा एमालेसँग ४१ सांसद छन् । कांग्रेसका १९, माओवादी केन्द्रका १७, कारबाही पछि जसपाका २ र राष्टिय जनमोर्चाका १ सांसद छन ।



तपाईंको प्रतिक्रिया