नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

 जेठ ०५, २०७७

तुलसीपुर ,५ जेठ ।

सरकारले काली नदीको मुहान लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ । यसअघि लिपुलेक र कालापानी क्षेत्र भएको मात्र नक्सा प्रयोगमा आएकोमा विरोध हुँदै आएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपालको सीमा लिम्पियाधुरासहितको नक्सा स्वीकृत गरेको हो । 

भूमिसुधार मन्त्रालयले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमि भएको नक्सा बनाएर पेस गरेको थियो । सो नक्सालाई सरकारले जारी गर्ने निर्णय गरेको हो । 

हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा हस्तक्षेप गरी भारतले तिब्बतको मानसरोवर जाने सडक निर्माण गरेपछि नेपालको लिम्पियाधुरासहितको नक्सा जारी गर्न दबाब परेको थियो । 

भूमिसुधार तथा व्यवस्थामन्त्री पद्मा अर्यालले नेपालको पश्चिमी सीमा लिम्पियाधुरासहितको क्षेत्र भएको नक्सा प्रचलनमा ल्याउने प्रस्ताव मन्त्रिपरिषदमा लगेकी थिइन् । 

योसँगै नेपालको संविधानको धारा ९ को उपधारा २ अनुसार अनुुसूची ३ मा संशोधन गरी निशान छाप सच्याउने बाटो खुला भएको छ ।

नेपाल अंग्रेज युद्धपछि १८१६ मा भएको सुगौली सन्धिमा नेपालको सीमा कालीनदीको मुहान अर्थात् लिम्पियाधुरा भएको उल्लेख छ । तर, सो क्षेत्र हाल भारतको कब्जामा छ ।

तपाईंको प्रतिक्रिया