आगामि बर्षको बजेट प्रस्तुत,स्वास्थ्यमा ९० अर्ब ६९ करोड
तुलसीपुर,१५ जेठ ।
सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुुभएको हो । सरकारले तीन सय शैंयाको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले तीन सय शैंयाको सरुवा रोग अस्पताल स्थापना गर्ने जानकारी दिनुभयो । सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गरिने उहाँले बताउनुभयो ।
स्वास्थ्य पूर्वाधार विकासका लागि सरकारले १२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको छ । सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला, प्रमुख प्रवेश नाकामा स्वास्थ्य जाँच गर्ने पूर्वाधार बनाउने, स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड बजेट विनियोजन गरेको अर्थमन्त्रीले जानकारी दिनुभयो ।
३ वषभित्र सबैको स्वास्थ्य बीमा गरिने, सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र यो कार्यक्रमका लागि ७ अर्ब विनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो । आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने तयारी सरकारले गरेको छ । केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने, राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने, निरोगी नेपाल अघि बढाउन सन्तुलित आहार स्वस्थ जीवनशैलीका लागि आयुर्वेद उपचार पद्धति अवलम्बन गर्ने, व्यायामशाला योग केन्द्र पनि चलाउने, निजी अस्पतालले जिल्ला अस्पतालमा अनिवार्य विशेषज्ञ सेवा दिने व्यवस्था मिलाएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले जानकारी गराउनुभएको हो ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब विनियोजन
सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो । कोरोना महामारी रोग, परीक्षण दायरा बढाउनका लागि सो रकम छुट्टाएको मन्त्री खतिवडाले बताउनुभयो ।
कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्री खतिवडाका अनुसार स्वास्थ्यकर्मीको लागि पाँच लाख बराबरको निःशुल्क स्वास्थ्य बीमा गरिने छ ।
तपाईंको प्रतिक्रिया