आईओएमको इतिहासमै पहिलो पटक महिला डिन
तुलसीपुर,४ असार ।
प्राध्यापक डा= जगदीश अग्रवालले उमेर हदका कारण अवकाश पाए पछि रिक्त भएको महाराजगञ्जस्थित त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदमा अन्ततः प्राध्यापक डा.दिव्या सिंह शाह नियुक्त गरिएको छ । बुधबार त्रिवि कार्यकारी परिषद्को बैठकले सर्च कमिटीद्वारा सिफारिश तीनजना डा. प्रदीप बैद्य, डा. शाह र डा. उत्तम श्रेष्ठमध्येबाट डा. शाहलाई आईओएमको डिनमा नियुक्त गरेको हो ।
डिन सिफारिशका लागि प्रा। डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गत जेठ २३ गते गठित उक्त सर्च कमिटीमा प्रा.डा. सुवासराज आचार्य र प्रा. डा. जीवन शेरचन सदस्य थिए। त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभागकी प्रमुख रहेकी डा. शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक समेत हुन् ।
तीन महिना अघि डा. शाहकै समन्वयमा प्रधानमन्त्री ओलीको सोही अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । यो सँगै आईओएमले इतिहासमै पहिलो पटक महिला डिन पाएको छ।
तपाईंको प्रतिक्रिया