विद्यालयबाट फर्किने क्रममा साइकल दुर्घटना, एक विद्यार्थी घाइते

 २ घण्टा अगाडि

दाङ । तुलसीपुर–११ मा रहेको शान्ति माध्यमिक विद्यालय नवलपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी सबिन खड्का साइकल दुर्घटनामा परी घाइते भएका छन्। विद्यालयवाट घर फर्किने क्रममा दुर्घटनामा परी उनको बायाँ हातको हत्केलामा गहिरो चोट लागेको थियो। उपचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि तत्काल सिटी हस्पिटल तुलसीपुरमा लगेर उपचार गरिएको हो।

दुर्घटनाका क्रममा धेरै रगत बगे पनि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि बाहिर लैजान नपर्ने भएपछि सिटी हस्पिटलमै उपचार गरिएको जनाइएको छ।

घाइते सबिनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तुलसीपुर–११ का वडाध्यक्ष मानबहादुर रावत अस्पताल पुगेर भेट गरेका छन्। वडाध्यक्ष रावतले सबिनको उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत  जनाएका छन्।

यसैबीच, विद्यार्थीको अवस्थाबारे जानकारी पाएलगत्तै अस्पताल पुगेर विद्यालयका प्रधानाध्यापक योगराज खत्री र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेश ओलीले उपचारको लागि समन्वय गरेका थिए ।

तपाईंको प्रतिक्रिया