तुलसीपुर बजार खोल्ने बारे यस्तो छ तयारी

 असार १२, २०७७

तुलसीपुर,१२ असार ।
तुलसीपुरमा १२ बजेसम्म बजार खोल्ने निर्णयका बारेमा बिपत ब्यवस्थापन समितिको बैठकमा बृहत छलफल भएको छ । विभिन्न व्यवसायिक संगठन, प्रहरी, प्रशासन, राजनीतिक दल लगायतकासँग गरिएको छलफल कार्यक्रममा तत्कालका लागि १२ वजेसम्म नै वजार खोल्ने क्रमलाई निरन्तरता दिने कुरा अगाडि वढाइएको छ ।

क्वारेन्टाइनमा रहेका केही मानिसहरुलाई कोरोना पुष्टि भएसँगै एकसातासम्मको अवस्था हेरेर अहिलेको समयमा हेरफेर गर्ने सहमती भएको छ । ‘क्वारेन्टाइनमा रहेका सबैको पिसिआर टेष्ट गरेपछी पहिलो पंक्तिमा काम गर्नेको टेस्ट गरेर अवस्था हेर्ने हो ’ नगर प्रमुख पाण्डेले भने । उनले कोरोना संक्रमणको अवस्था हेरेर बजार खुकुलो बनाउनेतर्फ ध्यान दिने वताए ।
विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले अवस्था जटिल वन्दै गएको भन्दै केही समयका लागि धैर्य गर्न व्यवसायीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा सुझाव राख्दै प्रजातान्त्रिक उद्योग वाणिज्य संघ अध्यक्ष जनक खरालले सामाजिक दुरी कायम गरेर पसल सञ्चालन गर्न सुझाव दिए । उनले १२ बजेसम्म मात्रै पसल खोले पनि उचित व्यवस्थापन गर्न सकिएन भने त्यसले संक्रमण फैलाउने वताए । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले व्यवसायी मर्कामा परेको भन्दै सुरक्षा विधि अपनाएर केही खुला गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि शिववहादुर सिंहले अहिले सुरक्षाकर्मीले नियमपालना गराउन प्रतिवद्ध भएर काम गर्ने वताए । कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष टोपवहादुर केसी, नेकपाका मिनराज भण्डारी, नेपाली काँग्रेसका जगतवहादुर खड्का, तुलसीपुर चेम्वर अफ कमर्सका ऋषिराज भण्डारी, इलाका प्रशासन कार्यालयका श्रीधर टण्डन लागयतले विभिन्न सुझाव दिएका थिए ।

तपाईंको प्रतिक्रिया