तुलसीपुरमा ३ सय बढी विद्यार्थीले कक्षा ११-१२ को छात्रवृत्ति पाउदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको अनलाइन आवेदन खुला गरेको छ । ३ सय २० जना विद्यार्थीलाई निःशुल्क अध्ययनका लागि उपमहानगरपालिकाले आज एक सूचना जारी गर्दै परीक्षा प्रणाली मार्फत योग्य विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको जनाएको हो । इच्छुक विद्यार्थीले जेठ २५ गते राति ११:५९ बजेसम्म अनलाइन फाराम भर्न सक्नेछन् ।
परीक्षामा माध्यमिक तह कक्षा १० को अनिवार्य विषयहरु नेपाली, अंग्रेजी, गणित,विज्ञान र सामाजिक (सामान्य ज्ञानसहित) को पाठ्यक्रममा आधारित १०/१० अङ्क गरी जम्मा ५० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरु हुने छन । जसमा प्रत्येक प्रश्नको अङ्कभार २ रहनेछ । परीक्षाको पूर्णाङ्क १०० हुनेछ र छात्रवृत्ति परीक्षा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका नगर शिक्षा समितिको मिति २०८३ जेठ ४ गतेको निर्णय तथा संस्थागत विद्यालय छात्रवृत्ति वितरण तथा अनुगमन कार्यविधि–२०७५ बमोजिम तुलसीपुर उपमहानगरपालिका अन्तर्गत कक्षा ११–१२ सञ्चालन भएका संस्थागत विद्यालयहरूमा छात्रवृत्ति आवेदन खुला गरिएको शिक्षा महाशाखाका बरीष्ठ शिक्षा अधिकृत चक्र बहादुर भण्डारीले जानकारी दिए ।
शिक्षा, व्यवस्थापन, विज्ञान र कानुन विषय अध्ययनका लागि छनोट भएका विद्यार्थीले संस्थागत विद्यालयहरूमा निःशुल्क अध्ययन गर्न पाउनेछन्। यस योजना अन्तर्गत गोरखा, ज्ञानज्योति, ग्रेट अरणिको, तुलसी बोर्डिङ, हिमाल एकेडेमी, डिभाइन टेम्पल, लिटिल हेभन, हाम्रो पहुँच, सृजना बालबाटिका र लिटिल फ्लावर लगायत १० वटा संस्थागत विद्यालयमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइनेछ ।
शिक्षा सबैको अधिकार भएकाले कुनै पनि विद्यार्थी आर्थिक अभावकै कारण पढाइबाट वञ्चित हुनुहुँदैन भन्ने हिसावले छात्रबृत्ति कार्यक्रम अघि बढाएको नगर प्रमुख टिकाराम खड्काले बताएका छन । “प्रतिभाशाली विद्यार्थीलाई अवसर दिनु नै स्थानीय सरकारको दायित्व हो, छात्रवृत्ति कार्यक्रम त्यसैको एउटा प्रयास हो ” नगर प्रमुख खड्काले भने । विद्यार्थीको क्षमता र मेहनतलाई प्राथमिकता दिँदै निष्पक्ष रूपमा छात्रवृत्ति छनोट गरिने उनले बताएका छन ।
विस्तृत सूचनाका लागि यहाँ Click गर्नुहोस् ।




तपाईंको प्रतिक्रिया