प्रधानमन्त्रीले भने– म दुवै पद छोड्दिनँ
काठमाडौं,२० असार ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि आफू दुवै पद त्याग्ने पक्षमा नरहेको बताएका छन् । नेकपाभित्रको शक्ति–संघर्षले पार्टीभित्र विभाजनसम्मको खतरा देखिएपछि शनिबार मन्त्री, राज्यमन्त्री र आफ्नो सल्लाहकार टिमसहितको विस्तारित बैठक राखेर पार्टीभित्रको संकटबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।
‘अहिले हाम्रो काँधमा पार्टी एकता, राष्ट्रियता र कम्युनिस्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आएको छ, त्यसमा मैले पनि दायाँ–बायाँ गर्दिनँ, तपाईंहरूले पनि गर्नुहुन्न,’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भनिन् ।
ब्रिफिङअघि प्रधानमन्त्रीले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका थिए । बैठकमा महिला, बालबालिका, समाजकल्याण तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मात्र केही भनाइ राखेका थिए । उनले केन्द्रीय सचिवालय र स्थायी कमिटी दुवै पार्टी एकता जोगाउन अक्षम हुँदै गएको भन्दै जुनसुकै मूल्य चुकाएर भए पनि केन्द्रीय कमिटीले पार्टी एकता जोगाउने धारणा राखेका थिए ।
तपाईंको प्रतिक्रिया