कोरोनाका कारण थप तीन जनाको ज्यान गयो

 असार २७, २०७७

काठमाडौँ,२७ असार ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ । काठमाडौँका दुई तथा सिन्धुपाल्चोकका एक जना गरी थप तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोराेनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

गौतमका अनुसार काठमाडौँ महानगरपालिका १० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो । फोक्सोमा पानी जमेको र मिर्गौलाको समेत समेत समस्या आएपछि उनी असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । १७ गते कोरोना पुष्टि भएका उनको २६ गते उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै पाटन अस्पतालमै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनी क्षयरोगको उपचारका लागि असार १८ गते अस्पताल भर्ना भएकोमा असार २२ गते कोरोना पुष्टि भएको थियो । उनको असार २५ गते मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

यस्तै काठमाडौँ गोकर्णेश्वर नगरपालिका –४ घर भएका ५४ वर्षका एक पुरुषको पनि कोरोना संक्रमणका कारण असार २५ गते उपचारको क्रममा मृत्यु भएको गौतमले बताए । उनी मिर्गाैला रोगका बिरामी समेत रहेको गौतमले बताए ।

तपाईंको प्रतिक्रिया