नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं, ३ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने छ । गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।
प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा कायमै छन् । विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।
शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । सचिवालय बैठकपछि आइतबार अपराह्न चार बजे स्थायी कमिटी बैठक बस्ने नेकपाका नेताहरुले बताएका छन् ।
तपाईंको प्रतिक्रिया