यो वर्ष धेरै क्षेत्रफलमा धान रोपाइँ
तुलसीपुर,२९ साउन ।
यो वर्ष नेपालमा हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ भएको छ । गत वर्षको मात्र तुलना गर्दा ३.२४ प्रतिशत अर्थात् ५१ हजार ७३८ हेक्टर बढीमा धान रोपाइँ भइसकेको छ । समयमै पानी परेका कारण मौसमको अनुकूलता र कोरोना भाइरसले मानिसहरू ग्रामीण क्षेत्रमा केन्द्रित भएका कारण धान रोपाइँमा सकारात्मक प्रभाव परेको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘हालसम्मकै सबैभन्दा बढी क्षेत्रफलमा यसपटक धान रोपाइँ भएको छ । समयमै पानी परेको तथा पर्याप्त जनशक्ति उपलब्ध भएका कारण गत वर्षभन्दा ३ प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।’
मन्त्रालयका अनुुसार नेपालको मुख्य खाद्यान्न बाली धान खेतीको कुल क्षेत्रफल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल रहेको छ । त्यसमध्ये यो वर्ष १३ लाख ४६ हजार ९२० हेक्टर क्षेत्रफलमा धान लगाइएको छ । यो कुल क्षेत्रफलको ९८.१९ प्रतिशत हो । धान रोपाइँ क्षेत्रफल वृद्धि हुनुमा कोरोनाले निम्त्याएको बन्दाबन्दी नै मुख्य कारण रहेको मन्त्रालयको ठम्याइँ छ ।
तपाईंको प्रतिक्रिया