कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते, आवेदन खुला
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डले २०८३ वैशाखमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा बढीमा दुई विषयमा NG (Not Graded) प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीका लागि मौका परीक्षाको व्यवस्था गरेको जनाएको छ।
बोर्डका अनुसार परीक्षा साउन २ र ३ गते सञ्चालन हुनेछ। साउन २ गते अनिवार्य अङ्ग्रेजी तथा एक विषयको परीक्षा दिने परीक्षार्थीको परीक्षा हुनेछ भने साउन ३ गते दुई विषयको परीक्षा दिने परीक्षार्थीको ठुलाे काेड विषयको परीक्षा सञ्चालन गरिनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ।
मौका परीक्षामा सहभागी हुन इच्छुक विद्यार्थीले प्रति विद्यार्थी रु. ८०० शुल्क बुझाई आवेदन दिनुपर्नेछ। असार १९ भित्र आवेदन नदिने परीक्षार्थीले विलम्ब शुल्कसहित रु. १,८०० तिर्नुपर्ने व्यवस्था गरिएको छ। सम्बन्धित विद्यालयमार्फत असार २८ गतेभित्र आवेदन फाराम बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ।



तपाईंको प्रतिक्रिया