लियोनलाई हराउँदै बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रान्सेली क्लब लियोनमाथि जित दर्ता गर्दै यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ ।
लिस्बनमा बुधबार बायर्नको ३-० को जितमा सर्ज जिनाब्रिले २ तथा रोबर्ट लेवान्डोस्कीले १ गोल गरे । पहिलो हाफमा नै जिनाब्रीले दुवै गोल गरेका थिए । यस जितसँगै बायर्नले अब उपाधि भिडन्तका लागि आइतबार फाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्नेछ । पीएसजीले मंगलबारको खेलमा आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गरेको थियो ।
खेलमा लियोनले उत्कृष्ट सुरुवात गर्दै बायर्नलाई दबाबमा राखेपनि अवसर सदुपयोग गर्न सकेन । कप्तान मेम्फिस डिपाए र तोको एकाम्बीले पेनाल्टी क्षेत्रभित्र पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा बायर्नले खेलमा पकड जमाउने अवसर पायो । बायर्नले पहिलो अवसरमा नै सर्ज जिनाब्रीको गोलमा अग्रता लिएपछि दबाब कायम गर्यो ।
खेलको चौथो मिनेटमा नै लियोनले अग्रता लिने सुवर्ण अवसर गुमायो । म्याक्सेन्स काकरेटको थ्रु पासमा अफसाइड ट्रयाप बिट गरेर बलसहित अगाडि बढेका लियोनका कप्तान मेम्फिस डिपाएले बललाई पोस्टको दिशा दिन सकेनन् । नोएर अगाडि बढेपनि डिपाएले बललाई पेनाल्टी क्षेत्र नजिकसम्म पुर्याएर बाहिर प्रहार गरेका थिए ।
१२ औं मिनेटमा लिओन गोरेट्जकाले पेनाल्टी क्षेत्रबाहिर लेवान्डोस्कीसँग उत्कृष्ट वन टु पास खेल्दै बनाएको मुभमा गोरेट्जकाको अन्तिम प्रहारलाई गोलरक्षक लोपेसले बचाए । लगत्तै अर्कोतर्फ डिपाएको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको १७ औं मिनेटमा लियोनको अग्रता लिने अवसरमा पोस्ट बाधक बन्यो । तोको एकाम्बीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहारले गोलरक्षक म्यानुएल नोएरसमेत बिट भएपनि पोस्टमा लाग्दै बल फर्कियो ।
त्यसै पोस्टमा लागेर फर्केको बलबाट बनेको मुभमा बायर्नले अग्रता लियो । सर्ज जिनाब्रीले दायाँ भागमा बल नियन्त्रणमा लिँदै लियोनका ५ खेलाडीलाई बिट गर्दै गरेको शक्तिशाली प्रहार गोलमा परिणत भयो । जिनाब्रीले पेनाल्टी क्षेत्रबाहिर बीच भागसम्म एक्लै बल ल्याउँदा लियोनका डिफेन्डरले बाधा दिन सकेनन् ।
२५ औं मिनेटमा जिनाब्रीले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एन्थोनी लोपेसले विफल पारे । ३० औं मिनेटमा लेवान्डोस्की र इभान पेरिसिचले वन टु पास खेल्दै सिर्जना गरेको अवसरमा गोलरक्षक लोपेस बाधक बने । लेवान्डोस्कीको अन्तिम प्रहारलाई लोपेसले अगाडि बढेर छेकेका थिए ।
जिनाब्रीले ३३ औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । पेरिसिचको क्रसमा लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक लोपेसले विफल पारेपनि जिनाब्रीले रिबाउन्डलाई ६ यार्ड बक्स भित्रबाट गोल गरेका थिए । ३८ औं मिनेटमा जिनाब्रीकै क्रसमा गोलरक्षक लोपेस बिट भएपनि लेवान्डोस्कीले बलसम्म पुग्न नसक्दा अग्रता बढाउन सकेनन् ।
दोस्रो हाफको ५१ औं मिनेटमा पेरिसिचले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई गोलरक्षक लोपेसले बचाए । ५५ औं मिनेटमा लियोनका मेम्फिस डिपाएको प्रहारलाई दोस्रो हामफा मैदान छिरेका डिफेन्डर निकलस सुलले छेके । लियोनले गोल फर्काउने आशामा कप्तान डिपाएको स्थानमा अघिल्लो खेलमा २ गोल गरेका मौसा डेम्बेलेलाई मैदान प्रवेश गरायो ।
त्यसको एक मिनपछि नै लियोनले खेलमा फर्कने अवसर सदुपयोग गर्न सकेन । हौसेम औआरको पासमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका तोको एकाम्बीले नोएरलाई बिट गर्न नसक्दा बायर्नको २ गोलको अग्रता कायम नै रहयो । ७९ औं मिनेटमा वैकल्पिक खेलाडी फिलिपे कोउटिन्होले गोल गरेपनि उनी अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएन ।
८६ औं मिनेटमा डेविड अलाबाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार वालमा लागेर फर्कियो । त्यसको दुई मिनेटपछि नै बायर्नले रोबर्ट लेवान्डोस्कीको गोलमा अग्रता बढाउन सफल रहयो । जोशुआ किम्मिचको दायाँ विंगबाट फ्रिकिक प्रहारमा लेवान्डोस्कीले हेडरमार्फत गोल गर्दै जित सुनिश्चित गरे ।
तपाईंको प्रतिक्रिया