कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै
२६ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरण भदौ २८ गतेपछि कार्यकारी निर्देशकविहीन हुँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा प्रमुखका रुपमा कसको प्रवेश हुन्छ भन्ने जनचासो छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार (आज)सम्म कार्यकारी निर्देशक नियुक्तिको कुनै प्रक्रिया अघि बढाएको छैन । मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार अब छिट्टै कार्यकारी निर्देशक नियुक्तिको प्रक्रिया सुरु हुनेछ ।
प्राधिकरणजस्तो महत्वपूर्ण निकायको नेतृृत्व लामो समय खाली राख्न नहुने भन्दै सचिव घिमिरेले अब प्रक्रिया थाल्न लागिएको बताए ।
बिदा हुँदै कुलमान
मन्त्रालयसँग कार्यकारी निर्देशकका लागि विभिन्न विकल्प छन् । पहिलो विकल्प हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्ने हो । अर्को कार्यकालमा दोहोरिन घिसिङ आफैं इच्छुक छन् ।
पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउन जनस्तरबाट सरकारमाथि दबाव छ ।
आइतबार राति १२ बजे घिसिङको कार्यकाल सकिँदैछ, भने मन्त्रिपरिषदको बैठक सोमबारमात्रै बस्ने तय छ । कार्यकाल सकिनुअघि नै कुलमानको पुनर्नियुक्ति हुने सम्भावना लगभग टुंगिएको छ ।
बिहीबार बस्ने भनिएको बैठक स्थायी समिति बैठकको तयारीका लागि भन्दै प्रधानमन्त्रीले स्थगित गरेका थिए । अब सोमबार बस्ने मन्त्रिपरिषद बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिको प्रस्ताव जाने/नजाने निश्चित छैन ।
अहिलेसम्म मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्ति गर्ने, कुलमानलाई निरन्तरता दिने वा निमित्तका रुपमा अरुलाई नै काम गर्न दिने भन्नेबारे प्रस्ताव नै तयार गरेको छैन । सोही कारण अब कुलमान दोहोरिने सम्भावना कम हुँदै गएको छ ।
ऊर्जा मन्त्रालयले तत्कालै घिसिङलाई पुनर्नियुक्त गर्ने/नगर्नेबारे बोल्न चाहेको छैन । सचिव घिमिरे पनि प्रक्रिया सुरु नहुँदै अब कार्यकारी निर्देशक को हुन्छन् भनेर व्यक्ति किटान गरेर भन्न नसकिने बताउँछन् ।
तपाईंको प्रतिक्रिया