लकडाउन नखुले भदौ २८ गतेपछि पसल खोल्छौं: ब्यवसायी

 भदौ २६, २०७७

तुलसीपुर,२६ भदौ ।
दाङका व्यवसायीहरुले जिल्लामा जारी लकडाउन भदौ २८ गतेपछि नहटाए व्यवसाय सञ्चालन गर्ने निर्णय गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघ तथा वस्तुगत समितीहरुको आज घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले लकडाउनलाई पुर्ण रुपमा खुल्ला गरि आ–आफना प्रतिष्ठानहरुमा स्वास्थ्य मापदण्ड पुरा गरि व्यवसाय सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

सञ्चालन भएका व्यवसायिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा माप दण्ड परा भए नभएको अनुगमन गर्नका लागि दाङ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह वुढाथोकीको संयोजकत्वमा स्वास्थ्य सुरक्षा अनुगमन समिती गठन गरिएको छ ।

समितीको सदस्यहरुमा संघका सदस्यहरु रामप्रसाद पोख्रेल, मिनराज भाट, टंकप्रसाद पोख्रेल, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका प्रतिनिधि, होटल व्यवसायि समितीका प्रतिनिधि र सबै बस्तुगत समितीका संयोजकहरु सदस्य रहेका छन् ।

बैठक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो । बैठकमा सहभागि वस्तुगत समितीका अध्यक्षहरुले स्वास्थ्य सुरक्षाको माप दण्ड अपनाएर व्यापार व्यवसाय सञ्चालनमा ल्याउनु पर्ने बताएका थिए । उनीहरुले लामो सयम सम्मको लकडाउनले नागरिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएको बताएका थिए ।

तपाईंको प्रतिक्रिया