कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघ्यो

 असोज ०८, २०७७

तुलसीपुर ।
नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विहिवार ४ सय ५७ जना सङ्क्रमित निको भएर घर फर्किएसँगै निको हुनेहरुको संख्या ५० हजार ४ सय ११ पुगेको हो । यो कूल सङ्क्रमितको ७२ दशमलब ७४ प्रतिशत हो । बुधवार नेपालमा १ हजार ८ सय ९३ जना सङ्क्रमित निको भएका थिए । यस्तै, २४ घण्टामा ११ हजार ४ सय ४९ परीक्षण भएका छन् भने थप १४ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले यससंगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ६९ हजार ३०१ पुगेको बताए । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना सङ्क्रमित १८ हजार ४ सय ३७ जना छन् भने ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेको छन् । मन्त्रालयका अनुसार विहिवार १७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ । यसअघि बुधवार ७ जनाको मृत्यु भएको थियो ।

तपाईंको प्रतिक्रिया