दिल्लीको दोस्रो जित
तुलसीपुर ।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लगातर दोस्रो जित हात पारेको छ । शुक्रबार राती सातौं खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनायो ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । दिल्लीलाई ओपनर शिखर धवन र पृथ्वी शाले १०.४ ओभरमा ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । यी दुईबीचको साझेदारी अनुभवी स्पिनर पियुष चवलाले ११ औं ओभरको चौथो बलमा धवनलाई एलबिडब्लू आउट गर्दै तोडेका थिए ।
सुरुवात राम्रो गरेपनि उत्कृष्ट अन्त्य गर्न नसक्दा दिल्ली विशाल योगफल बनाउन चुकेको हो । चेन्नईका पियुष चवलाले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । युवा बलर साम करनले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए ।
तपाईंको प्रतिक्रिया