आईपिएलमा हैदराबादले पहिलो जित

 असोज १४, २०७७

तुलसीपुर ।

 स्पिनर राशिद खानको घातक बलिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ । मंगलबार राती सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको हो । दिल्लीको जारी सिजनमा यो पहिलो हार हो । जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनायो ।

दिल्लीले पहिलो ओभरको पाँचौ बलमा ओपनर पृथ्वी शा लाई दुई रनमा गुमाएको थियो । शा भुवनेश्वर कुमारको बलमा एज लाग्दै विकेटकिपर जोनी बेयरस्टोको हातबाट समातिएका थिए । आठौं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर १७ रनमा आउट भए ।

स्पिनर राशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा ऐर अब्दुल सामदबाट क्याच आउट हुन पुगे । ऐरले २१ बलमा २ चौका प्रहार गरे । राशिदकै १२ औं ओभरको तेस्रो बलमा कट बिहान्ड हुँदै ओपनर शिखर धवन ३४ रनमा पेभिलिएन फर्के । धवनले ३१ बलमा ४ चौका प्रहार गरे ।

भुवनेश्वर कुमारको १६ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका शिम्रन हेटमायर मनिष पान्डेबाट २१ रनमा आउट भएपछि दिल्ली दबाब परेको थियो । हेटमायर १२ बलमा २ छक्का प्रहार गरे । चौथो विकेटका लागि हेटमायर र ऋषभ पन्तले ४२ रनको साझेदारी गरेका थिए ।

स्पिनर राशिदको १७ औं ओभरको चौथो बलमा ठूलो सट खेलेका विकेटकिपर ऋषभ पन्त डिप स्क्यिावर लेगमा प्रियम गर्गले ३२ रनमा क्याच आउट गराएपछि खेल थप रोमाञ्चक बनेको थियो । पन्तले २७ बलमा २ चौका र २ छक्का प्रहार गरे । १८ औं ओभरको अन्तिम बलमा टि नटराजनले मार्कस स्टोइनिसलाई ११ रनमा एलबिडब्लू आउट गरेपछि दिल्लीको जित टाढिएको थियो । अक्षर पटेल ५ रनमा बोल्ड आउट भए ।

राशिद खानले ४ ओभरमा १४ रन खर्चेर प्रमुख ३ विकेट लिए । भुवनेश्वर कुमारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । टि नटराजनले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । खलिल अहमदले एक विकेट लिए ।

तपाईंको प्रतिक्रिया