कोरोनाबाट रुपन्देही र बाँकेमा थप चार जनाको मृत्यु

तुलसीपुर ।
रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका पुरुषको आज मात्र कोरोना पुष्टि भएको छ । अर्का कोरोना सङ्क्रमित पुरुषको भने कोरोना विशेष अस्पतालमा गए राति मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत रुपन्देही, कोटहीमाई गाउँपालिकाका ४२ वर्षीय पुरुषको बुधबार मृत्यु भएको थियो । मृतकको पिसिआर परिक्षण रिपोर्ट आज पोजेटिभ आएपछि उनको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
उनलाई कोरोना सङ्क्रमणका लक्षणमध्ये श्वासप्रश्वासको समस्या देखिएको थियो । प्रादेशिक अस्पतालमा उपचारका लागि आएका उनको उपचारका क्रममा बुधबार साँझ ६ बजे मृत्यु भएको थियो । यस्तै बुटवल उपमहानगरपालिका वडा ८ का ८० वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
यही असोज १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि बुधबार बिहान कोरोना विशेष अस्पतालमा भर्ना गरिएकामा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा गौतमले जनाएका छन् ।
राँझा– बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान थप दुईको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै ती कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ४ का ५२ वर्षीय पुरुषको बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे उपचारका क्रममा मृत्यु भएको हो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या भने आठ पुगेको छ ।
तपाईंको प्रतिक्रिया