चित्तल मार्ने र अपहरण गर्ने पक्राउ

 असोज २१, २०७७

नेपालगञ्ज ।

बाँके प्रहरीले बुधबार तीनवटा घटना सार्वजनिक गरेको छ । कार्यालयमै पत्रकार सम्मेलन गरेर एसपी ओमबहादुर रानाले पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका, मारेको चित्तल र दुई महिनादेखि अपहरण काण्डबारे जानकारी दिएका हुन् ।

एसपी रानाका अनुसार, नरैनापुर गाउँपालिका वडा नं. ५, सर्वराजपुरुवास्थित हुलाकी सडक खण्डमा शंकास्पद दुई व्यक्तिलाई पिछा गर्दा दुई वटा कटुवा पेस्तोल र ५ राउण्ड गोली बरामद भएको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २०, मनिकापुर बस्ने ६२ वर्षका सलिम नाउ र वडा नं. १९, बसुदेवपुर बस्ने ३३ वर्षको इब्राहिम बेहनालाई पेस्तोलसहित पक्राउ गरेको छ । प्लाष्टिकको बोरामा पेस्तोल राखेर ल्याइरहेका उनीहरुले प्रहरीलाई देखेपछि बोरा फालेका थिए ।

शंकास्पद मानेर प्रहरीले बोरा खोल्दा पेस्तोल भेटिएको थियो । गोली भने सलिमले लगाएको स्टकोटको बाया खल्तीबाट बरामद भएको एसपी रानाले बताए । हतियार काण्डमा मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १३२ बमोजिम ५ वर्षसम्म कैद र ५० हजार जरिवानासम्म हुन सक्ने व्यवस्था रहेको छ ।

बाँके प्रहरीले दुई महिनादेखि अपहरणमा परेकी १७ वर्षकी किशोरीको उद्धार गरेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ। एकजना भने फरार रहेको जनाएको छ । प्रहरीले बर्दिया बढैयातालका मुकेश यादव र हरिराम अहिरलाई नियन्त्रणमा लिएको छ । अगलेश यादव भने फरार रहेका छन् । उनीहरुले किशोरी ललाई फकाई नियन्त्रणमा लिएर भारतको उत्तर प्रदेशको बादलपुरमा बन्धक बनाएर राखेका थिए ।

बाँके प्रहरीले जंगली जनावर चित्तल मारेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । राप्तीसोनारीका २३ वर्षीय सामेल रोका र नेपालगञ्जका २८ वर्षीय अन्जन हमाललाई मारेको चितुवासहित प्रहरीले पक्राउ गरेको हो ।

तपाईंको प्रतिक्रिया