प्रचण्डको नेतृत्वमा नेकपा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक सुरु
काठमाडौं-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक सुरु भएको छ ।
नेकपाभित्र चर्किएको विवादका कारण प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले बैठक नडाकेको भन्दै अध्यक्ष दाहालसहित पाँचजना सचिवालय सदस्यको सहभागितामा बैठक बसेको हो ।
बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले जनाएको छ । यो बैठक अनौपचारिक रूपमा बसेको स्रोतले जनाएको छ ।
यस बैठकमा अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र नेताहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा भने सहभागी छैनन् ।
धुम्बाराहीमा बैठक थाल्नुअघि अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीनिवास बालुवाटार गएका थिए । त्यहाँ उनीहरूबीच पौने घन्टा छलफल भएको थियो । यसबारे थप जानकारी आउन बाँकी नै छ ।
यसअघि गत शुक्रबार अध्यक्ष दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । जसमा पाँचजना सचिवालयका सदस्यको उपस्थिति थियो ।
उक्त बैठकले गरेको निर्णयबारे शनिबार लिखित पत्रसहित अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन माग गरी पत्र बुझाइएको थियो ।
उक्त बैठकले सकभर आइतबार वा सोमबारसम्म सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गरेको थियो ।
हिजो सोमबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारसम्म अध्यक्ष ओलीले सहमति नदिए बैठक डाक्ने जनाएकाे थियाे ।
तपाईंको प्रतिक्रिया