काेराेना खाेपमा नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता
काठमाण्डाै । भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले कोरोना भाइरसको खाेपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव शृङ्गलाले कोरोनाकाे खाेप पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । सचिव शृङ्गलाले नेपाल–भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी गर्नुभयो ।
कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कोभिड उपचारमा भारतले सबै छिमेकीहरूलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने खाेप आम रूपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बन्ध सभ्यतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकूल अवस्थामा पनि यो बिग्रिएको छैन । कोरोना महामारीमा पनि हामीले छोडेनाैँ ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनुपर्ने बताउनुभयो । नेपाल–भारत सम्बन्ध ऐतिहासिक भएकाले दुई देशको सम्बन्धको जग बलियो रहेको उहाँले बताउनुभयो ।
तपाईंको प्रतिक्रिया