राष्ट्रपति भण्डारीले ओली र प्रचण्डलाई मिलाउदै

 मङि्सर १९, २०७७

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवाद मिलाउनका लागि राष्ट्रपति कार्यालय शीतलनिवासले प्रयास जारी राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई शीतल निवासमा बेग्लाबेग्लै भेट गरिन् ।

भेटमा राष्ट्रपतिले दुबै अध्यक्षलाई विवाद नगर्न र मिलेर अघि बढ्न सुझाव दिएको स्रोतले बतायो ।नेकपा विवाद उत्कर्षमा रहेका बेला राष्ट्रपति भण्डारीसँग नेताहरुको भेटवार्ता हुने गरेको छ । गएको आठ महिना यताको नेकपा विवादमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको भेटवार्ता बाक्लो हुने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए । करिब डेढ घण्टा राष्ट्रपतिसँग भएको भेटमा सरकारी कामकाजका विषयमा कुराकानी भएको र पार्टीको अन्तरविरोधका विषयमा समेत कुरा भएको स्रोतले बतायो ।

प्रधानमन्त्रीको सचिवालयले भने राष्ट्रपतिसँगको भेटलाई नियमित भनेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय जानकारी गराउने संवैधानिक व्यवस्थाअनुसार नै ओली शीतलनिवास पुगेको बालुवाटार स्रोतले बतायो । महिला हिंसासम्बन्धी कानून संशोधनसम्बन्धी अध्यादेशमा राष्ट्रपतिले राखेको चासोबारे प्रधानमन्त्रीसँग छलफल भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

तपाईंको प्रतिक्रिया