सरकार विरुद्ध कांग्रेस सडकमा

 मङि्सर २०, २०७७

तुलसीपुर ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ । कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत राख्ने राजनीतिक दललाई निषेध गर्न थालेको ठहर गर्दै कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार दिउँसो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठकले बुधबार पार्टी नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उद्घाटनमा लगाएको रोकलाई सरकारको अधिनायकवादी आकांक्षाको संज्ञा दिएको छ ।

सरकारको जनविरोधी कदमविरुद्ध पार्टीले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिँदै उपसभापति विमलेन्द्र निधिले भने, ‘सरकारले संसद्को बैठक बोलाउन गरेको आलटाल, आर्थिक अनियमितता, कोरोना भाइरस नियन्त्रण र त्यसले पारेको प्रभावमा गरेको बेवास्ता, तनहुँ घटनाको विरोधमा पार्टीले मंसिर २९ गते देशभरि विरोध कार्यक्रम गर्नेछ।’

तपाईंको प्रतिक्रिया