५१ घरधुरीमा खानेपानीको समस्या हट्दै
तुलसीपुर ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मा खानेपानी योजना निर्माणको थालनी गरिएको छ । बस्ती नजिकमा खानेपानीको मुहान नहुदाँ टाढाबाट पानी वोकेर जीवनयापन गर्दै आएका स्थानियको सहजताको लागी कपुरकोट गाउँपालिका वडा नम्बर ३ कटौँजेरीमा लिफ्ट प्रविधि मार्फत खानेपानी योजना निर्माणको थालनी गरिएको हो ।
क्रमागत योजना मार्फत रु. २५ लाखको वजेट बाट यस पटक खानेपानी योजना निर्माणको थालनी गरिएको छ । बर्षौ देखी खानेपानी समस्या भोग्दै आएको र अब निर्माण कार्य सम्पन्न भएमा सहजता आउने निर्माण उपभोक्ता समितीका अध्यक्ष दिपेन्द्र वलीले बताउनुभयो । अहिले खानेपानीको जोहो गर्दैमा दैनिकी बित्ने गरेको बताउदैँ अबका दिनमा यसले सहजता थप्ने उहाँको भनाई छ ।
कटौंजेरी खानेपानी योजनाको बुधबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको छ । खानेपानी योजनाको शिलान्यास गर्दै उहाँले सबै नागरिकलाई खानेपानीको पहुँचमा ल्याउन प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले दिगो र टिकाउ हुने गरी खानेपानी योजनाको निर्माण काम सम्पन्न गर्न सुझाव दिनुभएको छ ।
योजना दिगो नहुदाँ नागरिकले नै सास्ती पाउने भएकाले गुणस्तरीयता कायम गर्दै छिटो काम सम्पन्न गर्न सुझाव दिनुभएको हो । यस खानेपानी योजनाबाट यहाँका ५१ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । कार्यक्रमको सहजीकरण नारायण खड्काले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया