ओली समुहको अनेरास्ववियूको १ हजार ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा

 पुष १०, २०७७

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अनेरास्ववियूले अल्पमतले बहुमत पक्षलाई कारबाही गरें भन्नु हास्यास्पद रहेको बताएको छ । ओली पक्षले दोस्रो केन्द्रीय कमिटीको बैठक बोलाएपछि प्रचण्ड–माधव पक्षले संयोजक ऐन महर पक्षलाई शुक्रबार कारबाही गरेको बताएको थियो ।

सहसंयोजक रञ्जित तामाङ समूहले विज्ञप्ति जारी गर्दै ‘संगठनको नीति, निर्णय र विधान विपरीतका महरले काम जारी राखेकाले’ संगठनको बहुमतको निर्णयअनुसार कारबाही गरिएको बताएको छ । तर, संयोजक महरले भने अल्पमत पक्षले आफूलाई कारबाही गरेको भन्नु हास्यास्पद रहेकाे बताए । उनले भने, ‘सहसंयोजकले संयोजकलाई कारबाही गरे भन्नु हास्यास्पद हो ।’ आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएको भन्दै उनले आजको बैठकले विधान संशाेधन गरेर साविकको ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई १ हजार ९९ सय बनाएको बताए ।

उनका अनुसार ३३५ मध्ये १७० केन्द्रीय सदस्य आजको बैठकमा उपस्थित थिए । काठमाडौंको नयाँबजारमा बसेको बैठकले ६५४ नयाँ सदस्य मनोनीत गरेको र बाँकी पछि थप गरिने उनले जानकारी दिए । अर्को बैठक आइतबार फेरि बस्नेछ ।

तपाईंको प्रतिक्रिया