‘घुम्न जाउँ भित्रीकोट अभियान’ सुरु
प्यूठान ।
जिल्लाको प्यूठान नगरपालिकाले ‘घुम्न जाऊँ भित्रीकोट ’ अभियान सुरु गरेको छ । प्यूठान नगरपालिका -७ स्थित भित्रीकोट दरबारलाई पर्यटकीय गन्तव्य बनाउन अभियान थालिएको नगप्रमुख अर्जुन कुमार कक्षपतीले जानकारी दिनुभयो ।
उहांका अनुसार अभियानका क्रममा नगरभीत्रका सबै पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने गरी कार्यक्रम हुने छन । उहांले साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक नगरका रुपमा यसलाई स्थापित गर्नका लागि विभिन्न योजना निर्माण गरिएको पनि बताउनुभयो । कक्षपतीले ‘भित्रीकोट क्षेत्रमा रहेका १७ मुख्य गन्तव्यलाई आधार मानेर दरबार जीर्णोद्धारको काम भैरहेको छ’ भन्नुभयो।
विसं १९९० को भुकम्पले भत्किएको दरबार जीर्णावस्थामा छ । भुरे टाकुरे राजाको पालामा बनेको यो दरबारको डिपिआर समेत बनाईएको छ । सोही अनुसार पैदल मार्ग, ढुङ्गा बिच्छाउने र सिढिं निर्माण लगायतका काम भइरहेको नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारी बताउँनुहुन्छ ।
यस क्षेत्रमा जिल्लाका आन्तरीक पर्यटक पुग्ने गरेका छन् । विभिन्न चाडपर्वमा पुजा आजा गर्न स्थानीयको समेत यहा लर्को लाग्ने दरबारका हेरालु ७९ वर्षीय ढालबहादुर थापामगरले बताउनुभयो । दरबार क्षेत्रमा दुर्गादेवी मन्दिर, ऐतिहासिक तरबार छन् । यहाबाट जिल्लाको सुन्दर झिमरुक फाँट, हिम श्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । दरबार क्षेत्र नजिकै पार्क समेत बनाईएको छ । भित्रीकोटमा चन्द्रवंशी राजाले राज्य सञ्चालन गरेको इतिहासमा उल्लेख छ ।
तपाईंको प्रतिक्रिया