नेपालमा चार चरणमा खोप लगाउने तयारी

 पुष १८, २०७७

काठमाडौं ।

नेपालमा खोप आएपछि चार चरणमा खोप लगाउने सरकारी तयारी छ । देशले धान्न सक्ने खोप आएपछि कसरी र कुन समूहलाई लगाउने भनेर छलफल थालेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो । नेपालमा खोप ल्याउन तेस्रो चरणको प्रकृया पूरा गर्ने कम्पनीहरुलाई पत्राचार गरिएको छ । उहाँका अनुसार सुरुमा तीन प्रतिशत, करिब नौ लाखलाई पहिलो चरणमा खोप लगाइने छ ।

पहिलो चरणमा कोरोना विरुद्धको अभियान अन्तरगतको उपचार, व्यवस्थापनमा खटिने नौ लाखलाई खोप लगाउने अन्तिम तयारीमा रहेको डा. शर्माले भन्नुभयो । उहाँका अनुसार दोस्रो चरणमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय लागेको छ ।
५५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई खोप लगाउने तयारी सरकारी निकायको छ ।

५५ वर्षभन्दा माथिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुको संख्या ६० लाखभन्दा माथिको रहेको अनुमान गरिएको र त्यसको तयारीमा लागेको डा. शर्माले भन्नुभयो । तेस्रो चरणमा ४० वर्षदेखि ५५ वर्षसम्मका मानिसहरुलाई लगाउने तयारी रहेको छ । त्यस्तै अन्तिम चरणमा १५ वर्षदेखि ३९ वर्षसम्मको नागरिकहरुलाई खोप लगाउने तयारीमा सरकारी निकाय छ । १५ वर्षभन्दा मुनीका बालबालिकाहरुलाई खोप लगाईंदैन । अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, समुदायमा तथ्याङ्ग संकलनको काम गरिरहेको डा. शर्माले भन्नुभयो ।

तपाईंको प्रतिक्रिया