बयलगाडासहित प्रचण्ड–नेपाल समूहको प्रदर्शन
कैलाली ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरिएको बिरोधमा धनगढीमा बयलगाडासहित जुलुस निकालिएको छ । ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
विगतमा ओलीले ‘गणतन्त्र ल्याउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेर दिएको अभिव्यक्तिलाई व्यंग्य गर्दै अनेरास्ववियूले आज देशभर बयलगाडासहित प्रदर्शन गरेको हो । काठमाडौंको थापाथलीमा बयलगाडाको सांकेतिक प्रदर्शन गरिए पनि कैलालीसहित तराई मधेसका जिल्लाहरुमा भने गोरु र राँगाले तानेको वास्तविक बयलगाडा नै सडकमा निकालिएको थियो । त्यसमा ‘जाउँ है अमेरिका’ लेखिएको थियो ।धनगढीको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको बताए ।
तपाईंको प्रतिक्रिया