घरबाट भागेका देवर-भाउजूको मृत्यु
महेन्द्रनगर ।
घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका-८ का देवर-भाउजूको कञ्चनपुरमा मृत्यु भएको छ । उनीहरुको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार यहाँको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका देवर-भाउजूको विष सेवनका कारण मृत्यु भएको हुनसक्ने आकलन गरिएको छ । ‘भाउजूको हिजो बेलुकी ५ : १५ बजे र देवरको राति ११ : ३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने,’घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।’ देवर-भाउजू कहाँ जान यहाँ आइपुगेको भन्नेबारे समेत खुल्नसकेको छैन ।
प्रहरीका अनुसार दुवैको शव महाकाली अस्पतालमा राखिएको छ । प्रहरीले शव परीक्षणपछि मृत्युको कारण खुल्न सक्ने जनाएको छ ।
तपाईंको प्रतिक्रिया