लुम्बिनि प्रदेशमा ३९ हजारलाई कोरोना विरुद्धको खोप

 माघ ११, २०७७

तुलसीपुर ।

भारत सरकारले पहिलो चरणमा दिएको कोरोना विरुद्धको खोपमध्ये लुम्बिनी प्रदेशका लागि ३९ हजार ४ सय ९५ भाइल आउँदैछ । स्वास्थ्य मन्त्रालयमार्फत आइतबार दिउंसो काठमाडौंबाट पठाइएको खोप सोमबार बिहानसम्म प्रदेश मुकाम बुटवल आइपुग्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा आउने खोप माघ १४ गतेदेखि फ्रन्ट लाइनमा खटिएर काम गरेका डाक्टर तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक र ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरूलाई लगाउन शुरु गरिने छ । मन्त्रालयले २६ हजार स्वास्थ्यकर्मी र बांकी अन्य फ्रन्टलाइनर गरी ३६ हजार भाइल खोप स्वास्थ्य मन्त्रालयमा माग गरेको थियो । प्रदेशका चार वटा कोरोना विशेष अस्पताल, सरकारी अस्पताल र स्वास्थ्य संस्था,कोरोनाका विरामी उपचार गरेका निजी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने छ ।

खोप आइसकेपछि बुटवलमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा भण्डारण गरेर राखिने र १२ वटै जिल्लामा रहेका भण्डारण केन्द्रमार्फत प्रदेशका एक सय ९ वटै स्थानीय तहमा खोप पुर्‍याउन आवश्यक तयारी गरिएको छ ।

तपाईंको प्रतिक्रिया