भाइरल अर्जुन धरौटी बुझाएर छुटे
तुलसीपुर ।
भाइरल अर्जुन भनेर चिनिएका अर्जुन विक तारेखमा रिहा भएका छन् । जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ परेका विकलाई जिल्ला अदालत कैलालीले ५० हजार धरौटीमा रिहा गरेको जिल्ला सरकारी वकिलको कार्यालय कैलालीका सूचना अधिकारी सुरबहादुर परियारले बताए ।
गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक सञ्जालमा आएपछि अर्जुन भाइरल भएका थिए । १३ वर्षमा बिहे गरेर १५ वर्षमा छोरा जन्माएकी श्रीमती पोइला गएको भन्दै झुटो खबर बताएर सामाजिक सञ्जाल र युट्युबमा भाइरल भएपछि अर्जुनले आधा दर्जनभन्दा धेरै म्युजिक भिडियोमा खेल्ने मौका पाएका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत ८ गते अर्जुनलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरेर कैलाली ल्याइएको थियो ।
अर्जुन विरुद्ध गत भदौ ११ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा अभियोग दर्ता भएको थियो । उक्त अभियोगपत्रमा अर्जुनले २०७३ जेठ ३० देखि २०७७ साउन १५ गतेसम्म बन्धक बनाएर राखेको र बलात्कार गरिएको उल्लेख छ ।
तपाईंको प्रतिक्रिया