संवैधानिक इजलास भोली नबस्ने
तुलसीपुर ।
प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका लागि भोली संवैधानिक इजलास नबस्ने भएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश इन्द्रराज पाण्डेयको निधन भएकाले भोलीको संवैधानिक इजलास नबस्ने भएको हो । भोली अदालतका प्रशासनिक कामकारबाही सञ्चालन हुने सर्वोच्च अदालतले जनाएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो ।
आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ मुद्दा परेका छन् । ती मुद्दामाथि ५ सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । माघ ४ गतेदेखि जारी निरन्तर सुनुवाइमा निवेदकका कानुन व्यवसायीले बहस सकेपछि केही दिनयता विपक्षीका वकिलले बहस गरिरहेका छन् ।
तपाईंको प्रतिक्रिया