कपुरकोटको गाउँसभाबाट ७ वटा कार्यविधि पारित

 माघ २९, २०७७

सल्यान ।

बजेट संशोधन संगै सात वटा कार्यविधि पारित गर्दै कपुरकोट गाउँपालिका सल्यानको आठौँ गाउँसभा सम्पन्न भएको छ । विहिबार गाउँसभाका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षतामा भएको गाउँसभाको हिउँदे अधिवेशनले सुचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यविधि, सार्वजनिक जवाफदेहीता प्रवद्र्धन सम्बन्धी कार्यविधि, टोल विकास संस्था (गठन तथा परिचालन) कार्यविधि, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि लगाएत सात वटा कार्यविधि पारित गरेको हो ।

गाउँ कार्यपालिकाको बैठकबाट पारित भएर आएका कार्यविधिहरु विधायनन समितीका संयोजक मिन बहादुर सेनले सभामा प्रस्तुत गरेका थिए । आ.व. २०७७।७८ को सातौ गांउसभाद्धारा विनियोजन कार्यक्रम अनुसार संशोधनका लागि गाउँपालिका उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तिला बुढा मगरले पेश गरेको कार्यक्रम तथा वजेटलाई पनि सर्वसहमतबाट सभाले पास गरेको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिए ।

जस अनुसार आयोजना ब्यवस्थापन शिर्षककोे ३० लाख रुपैयाँ विभिन्न पाँच वटा योजना र कार्यक्रममा विनियोजन गरिएको छ । यस्तै समपुरक कोषको ४० लाख रुपैयाँ कृषि विकास कार्यक्रम, शैक्षिक सुधार कार्यक्रम लगाएतका ६ वटा योजना तथा कार्यक्रमका लागि विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्काले बताए ।

सभामा गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले लोकतन्त्रका आधारभुत मुल्यमान्यता, मानव अधिकार, सामाजिक न्याय, सहकार्य, सह अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै कपुरकोट गाउँपालिका विधिको शासनप्रति पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए । यस्तै उपाध्यक्ष तिला बुढा मगरले बजेटको सफल कार्यान्वयनका लागि विकास साझेदार संस्था, गैर सरकारी संघ संस्था, संचारक्षेत्र, निजी क्षेत्र, नागरिक समाज सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिन् ।

तपाईंको प्रतिक्रिया