घाँस काटन गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

 फागुन ०३, २०७७

धनगढी । कैलालीमा पाटेबाघको आक्रमणमा परी आइतबार एक महिलाको ज्यान गएको छ । गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी २५ वर्षीया कला धामीको बाघले ज्यान लिएको हो ।
पुष्पाञ्जली सामुदायिक वनमा घाँस काट्न गएको बेला बाघले धामीमाथि आक्रमण गरेको जनाइएको छ । बाघले आक्रमण गरेर लगेको भन्दा केही पर महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
उहाँले घटना भएको क्षेत्रमा सुरक्षाका लागि इलाका प्रहरी कार्यालय सुखड र वनको टोली परिचालन गरिएको उल्लेख गर्नुभयो । शुक्रबारमात्रै बाघले कैलारी गाउँपालिका–८ दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चौधरी घाइते हुनु भएको छ । केही दिन यता कैलालीमा बाघ देखिदैं आएको छ । बाघले मान्छेको ज्यानसमेत लिन थालेपछि त्रास बढेको छ ।
बाघ नरभक्षी बनिसकेकाले त्यसलाई नियन्त्रण गरिने डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया