जिम्बाबेमा लकडाउनको म्याद थप
एजेन्सी- कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताए । उनका अनुसार यसअघि छ हप्ता लागु गरिएको देशव्यापी लकडाउन अहिले दुई हप्ता थप्ने तयारी भएको हो ।
राष्ट्रपति मनङ्गवाले देशमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेक्रम नरोकिएकाले लकडाउन आवश्यक परेको बताए । व्यापार व्यवसाय गर्ने समय भने बढाइएको छ । दैनिक सातदेखि नौ घण्टासम्म व्यापार व्यवसाय गर्न पाइने व्यवस्था गरिएको छ । रातिको समयमा भने कर्फ्यु नै लगाइएको छ ।
लकडाउनको समयमा विद्यालयहरु भने पूर्ण रुपमा बन्द हुने पनि राष्ट्रपति मनङ्गवाले जानकारी दिए । त्यसैगरी अन्तर शहर र अन्तर प्रान्तस्तरीय भ्रमण पनि बन्द गराइएको छ भने भोजभतेर र भिडभाड पनि गर्न नपाइनेको व्यवस्था गरिएको छ । सबै गतिविधि गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड तथा निर्देशिकाअनुसार गर्न पनि सरकारले आह्वान गरेको छ ।
तपाईंको प्रतिक्रिया