प्यूठानमा झण्डै दुई हजारले लगाए कोरोना खोप

 फागुन ०८, २०७७

शुसिला बुढा मगर, प्युठान ।
प्युठानमा दोस्रो प्राथमिकतामा परको २ सय ५ जनप्रतिनिधि सहित १ हजार ९ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंक कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई खोप दिने व्यवस्था गरेको थियो । सोही अनुसार प्युठानमा २ फागुनदेखि खोप अभियान सुरु भएको थियो । अभियान अन्तर्गत प्युठानमा हालसम्म १ हजार ९ सय ७९ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

दोस्रो समुहमा सबैभन्दा बढी निजामती कर्मचारीले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लाका ३ सय ५७ जना निजामती कर्मचारीले खोप लगाएका हुन् । पहिलो समुहमा छुट भएका ४७ जना स्वास्थ्यकर्मीले पनि दोस्रो चरणमा कोरोना खोप लगाएको उनको भनाइ छ । प्युठानमा पहिलो चरणमा कोरोना महामारीको अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक लगायत गरी १ हजार १ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिक्रिया