प्रचण्ड–माधव समूह सरकार बनाउन भिख माग्दै हिँडे: पोखरेल

 फागुन १२, २०७७

काठमाडौं ।

नेकपा ओली समूहका नेता शंकर पोखरेलले संसद विघटनको उद्देश्य पूरा भएको बताएका छन् । आफूहरु निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले भने, ‘जुन उद्देश्य साथ प्रतिनिधिसभा विघटन गरेका थियौं, त्यो उद्देश्य हामीले दुई महिनाको अवधिमा पूरा गरिसकेका छौं । संसद पुनर्स्थापना भएर केही बिग्रिएको छैन ।’

प्रतिनिधि सभा विघटन नगरेको भए पार्टी नेतृत्व र पार्टी एकताविरुद्ध गरिएका षडयन्त्रको भण्डाफोर गर्न नपाउने उनले बताए । नेता पोखरेलले भने, ‘पार्टी नेतृत्व र आन्दोलनको रक्षाको लागि स्वाभाविक रुपमा प्रतिनिधि सभाको विघटन त्यतिबेलाको लागि अपरिहार्य कदम थियो भन्ने हामीले बुझ्न जरुरी छ ।’ उनले अघि भने, ‘सर्वोच्चको फैसला के भयो भन्ने बिर्सनुस् । त्यतिबेला त्यो काम नगरेको भए पार्टी नेतृत्व, आन्दोलन र एकताविरुद्ध जुन प्रकारको षडयन्त्रपूर्ण क्रियाकलाप भएको थियो, त्यसको विरोध र भण्डाफोर गर्ने अवसर पाउने थिएनौं ।’

अब कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारलाई काम गर्न नदिएको र गैर कम्युनिष्टहरुको सरकार बनाउन खोजेको भन्दै जनतामा जाने पोखरेलले बताए । प्रचण्ड–माधव समूह गैरकम्युनिष्टको नेतृत्वको सरकार बनाउन भिख माग्दै हिँडेको भन्दै उनले भने, ‘एकातिर प्रधानमन्त्रीले कम्युनिष्ट पार्टीको दुई तिहाई हुँदाहुँदै विघटन गरेर संकटमा पारे भन्नुहुन्छ, अर्कोतिर गैर कम्युनिष्टको नेतृत्वमा सरकारका लागि भिख माग्न हिँड्नुभएको छ ।’ अब सांसद तान्ने खेल हुने र संसद विघटनको कदम सही हो भन्ने सबैले महसुस गर्ने पोखरेलले जिकिर गरे ।

तपाईंको प्रतिक्रिया