म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई प्रतिबन्धको सामना गर्न तयार
![](https://janamukhikhabar.com/wp-content/uploads/2021/03/m.jpg)
काठमाडौं ।
म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई प्रतिबन्धको सामना गर्न तयार रहेको बताएको छ । फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा सत्ता आफ्नो हातमा लिएको विषयलाई लिँदै राष्ट्रसंघले म्यानमारमाथि प्रतिबन्धको चेतावनी दिएको छ । चेतावनीको जवाफमा म्यानमारको सेनाले राष्ट्रसंघका प्रतिनिधिलाई यस्तो जवाफ फकाएको हो ।
म्यानमारको लागि राष्ट्रसंघकी प्रतिनिधि क्रिस्टाइन स्क्रानर बर्गेनरले दक्षिणपूर्वी एसियाका मुलुकलाई म्यानमारको सेनाविरुद्ध कडा कदम चाल्न आग्रह गरेकी छिन् । बर्गेनरले बुधबार सैन्य कूविरुद्ध प्रदर्शन गर्ने ३८ जना प्रहरी दमनमा मारिएको बताएकी छिन् ।
सेनाले सत्ता आफ्नो हातमा लिएपछि बुधबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारी मारिएका हुन् । शुक्रबार बर्गेनरले राष्ट्रसंघको सुरक्षा परिषद्मा म्यानमारमा विकसित घटनाबारे जानकारी दिनेछिन् ।
बर्गेनरले म्यानमारका सहायक प्रमुख सोइ विनसँग छलफल गरेकी थिइन् । छलफलको क्रममा उनले म्यानमारमाथि राष्ट्रसंघले प्रतिबन्ध लगाउने चेतावनी दिएकी थिइन् ।
‘उत्तर यस्तो थियो (हामीले प्रतिबन्ध यसअघि पनि भोगेका थियौं र हामी बाँचेका पनि थियौं । अब हामीले केही सीमित साथीहरुको साथमा अघि बढ्नुपर्ने हुन्छ’, उनले भनिन् ।
अमेरिका, बेलायत, क्यानडा र ईयूले भने म्यानमारको सेनाको आलोचना गर्दै प्रतिबन्धको चेतावनी दिँदै आएका छन् । चीन र रुसले भने यो म्यानमारको आन्तरिक मामिला भएको बताउँदै आएका छन् ।
तपाईंको प्रतिक्रिया