खोप दिने प्राथमिकता समूह फेरि परिर्वतन

 फागुन २१, २०७७

काठमाडौं ।

सरकारले आगामी २३ फागुनदेखि शुरु गर्न लागेको कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ । तोकिएको समयमा सम्झौता अनुसारको खोप नआएपछि यसअघि ५५ वर्ष माथिकालाई दिइने भनेर गरिएको निर्णयलाई संसोधन गरी ६५ वर्ष पुर्‍याइएको हो । यसअघि ६० वर्ष माथिकालाई खोप दिने तयारी गरे तापनि संशोधन गरेर ५५ वर्ष पुर्याइएको थियो ।

सरकारले दुई साताभित्र २० लाख डोज कोभिसिल्ड ल्याइपुर्‍याउने गरी सिरम इन्स्टिच्युट अफ इन्डियालाई अग्रिम भुक्तानी गरेको थियो । सिरमले सम्झौताअनुसार १० लाख डोज पठाए पनि दोस्रो डोज समयमै पठाउन नसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले बताए । सोही कारण खोपको उपलव्धता अनुसार पहिलो दोस्रो चरणको पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकाहरुलाई राखिएको हो ।

यता स्वास्थ्य मन्त्रालयमा बिहीबार बसेको मन्त्री, सचिव, प्रमुख विशेषज्ञ, विज्ञहरु सम्मिलित बैठकले हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुनदेखि नै ५५ वर्ष माथिकालाई खोप दिने निर्णय गरेको छ । महानिर्देशक डा सिंहले शिक्षक, प्राध्यापक तथा सवारी चालकहरुलाई पनि ६५ वर्ष माथिको उमेर समूहले खोप पाइसकेपछि मात्रै दिने योजना बनाइएको बताए ।

तपाईंको प्रतिक्रिया