आजको पत्रकारिता बहस: खोज पत्रकारितामा लगानी बढाऔं
दाङ ।
जिम्मेवार र जनमूखि पत्रकारिता आजको अवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् । संचार समूह दाङले आईतबार घोराहीमा गरेको आजको पत्रकारिता विषयक बहसमा सहभागी सरोकारवालाले जनमुखि पत्रकारिता आजको आवश्यकता भएको बताएका छन् ।कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले पछिल्लो समय बढ्दो प्रविधिले पत्रकारितालाई चुनौति र अवसर दुवै भएको बताउनुभयो । उहाँले न्यु मिडिया अर्थात सामाजिक संजालकै कारण सुचना संकलनमा सहज भएको बताउँदै न्यु मिडियालाई अवसरको रूपमा लिनुपर्ने बताउनुभयो ।
पत्रकारिता पेशा आफैमा सम्मानजनक पेशा भएको भन्दै उहाँले पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारिता नागरिक र सरकार बिचको पुल भएकाले पनि पुलको संरचना बलियो बन्न मिडिया हाउसले पर्याप्त मात्रामा लगानी गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासनले पत्रकारको क्षमता विकासका लागि मिडियामा हाउसमै पुगेर तालिम संचालन गर्न लागेको बताउनुभयो । पत्रकारितमा राम्रा अवसर भएको उल्लेख गर्दै उहाँले नयाँ प्रवेशी पत्रकार हतास हुनुनपर्ने बताउनुभयो ।
अध्यक्ष प्रियासनले पत्रकारको दिर्घकालिन सुरक्षाको लागि ६० वर्ष माथिका पत्रकारलाई पेन्सनको योजना अघि सारेको बताउनुभयो । पेन्सन योजनाका लागि तत्काल १० करोड अक्षयकोष स्थापना हुन लागेको जानकारी दिनुभयो । रेडियो स्वर्गद्वारीका सम्पादक बसुन्धरा गौतमले पत्रकारको क्षमता विकास र पेशागत सुरक्षाका लागि मिडिया हाउसका मालिक गम्भीर बन्न नसकेको बताउनुभयो । मिडियामा मालिकले अहिले पनि सक्षम र कुशल पत्रकारलाई पारिश्रमिक दिन आनाकानी गरिरहेको बताउनुभयो ।
उहाँले खोज पत्रकारिताका लागि मिडिया हाउसले लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले न्युनतम पारिश्रमिक लागू गर्न मिडिया मालिक गम्भीर नभएको उल्लेख गर्दै नेपाल पत्रकार महासंघले अभिभावकिय भुमिका निर्वाह गर्न नसकेको बताउनुभयो ।
नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यले पत्रकार तथा मिडिया हाउसले नागरिकको अपेक्षा अनुसारको समाचार दिनुपर्ने बताउँदै निष्पक्ष पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले पत्रकारको कलमले समाज परिवर्तन हुने भन्दै नागरिकका समस्यालाई सरकार समक्ष लैजानु पत्रकारिताको धर्म भएको बताउनुभयो ।
पत्रकारितामा देखिएका समस्या र समाधानका उपायका विषयमा गरिएको बहसमा प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले मिडियामा हाउसले बेलाबेलामा समीक्षा गर्न आवश्यक रहेको बताउनुभयो । संचार समुह दाङका अध्यक्ष दिपक जिएको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुले जिम्मेवार पत्रकारिता आवश्यक रहेकोमा जोड दिएका छन् ।
संचार समुह दाङका कोषाध्यक्ष बिमला घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जीतसागर जीएम , छवि पुरी र आभाष बुढाथोकीले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया