उपभोक्ता ठगिने क्रम बढ्यो

 चैत ०२, २०७७

तुलसीपुर ।
‘प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ आज उपभोक्ता अधिकार दिवस मनाइँएको छ । यद्यपी उपभोक्ताको अधिकार भने अझै सुरक्षित हुन सकेको छैन । नेपालको संविधान २०७२ को मौलिक हकका रूपमा धारा ४४ मा उपभोक्ता अधिकारको ग्यारेण्टी गरिएको छ । तर ब्यवहारमा लागु हुन सकिरहेको छैन । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको तथ्यांकले बजारमा कालोबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी, म्याद नाघेका सामान खुलेआम बिक्री हुँदा उपभोक्ता अधिकार सुरक्षित हुन नसकेको देखाउँछ ।

खाद्यान्न, स्वास्थ्य, शिक्षा, खानेपानी, इन्धनलगायतका क्षेत्रमा दिनप्रतिदिन उपभोक्ता ठगिने क्रम रोकिएको छैन । हरेक क्षेत्रमा उपभोक्ताको अधिकार सुरक्षित नहुँदा वर्षमा एक दिन मनाउने दिवस केवल नारामै सीमित बन्ने गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को मौका छोपेर व्यवसायीले अधिकांश वस्तुमा अस्वाभाविक मूल्य बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा पर्न गएको हो । बजारमा खाने तेल, चामल, दाल, चिनी, निर्माण सामग्री लगायतका दैनिक उपभोग्य वस्तुमा मूल्य बढेको छ ।

पछिल्लो समय बजारमा खाने तेलको मूल्य सबैभन्दा धेरै बढेको छ । खाने तेलको मूल्य प्रतिलिटरमा ५० देखि ६० रुपैयाँ बढेको छ । भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएसँगै बजारमा तेलको मूल्य बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेर आएको खाने तेलको मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । बजार अनुगमन र नियमन गर्ने जिम्मेवारी पाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रभावकारी रूपमा बजारमा अनुगमन नगर्दा बजार व्यवस्थित हुन नसकेको उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।

यसका साथै बजार अनुगमन प्रभावकारी नहुँदा हरेक क्षेत्रमा उपभोक्ता ठगिने क्रम बढिरहेको सर्बसाधरणको भनाइ छ ।।

तपाईंको प्रतिक्रिया