पत्रकार महासंघ दाङमा पद हस्तान्तरण

 बैशाख ०४, २०७८

दाङ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका नव निर्वाचित पदाधिकारीहरुले पदभार तथा सपथ ग्रहण गरेका छन् । आज महासंघकै भवनमा एक कार्यक्रमका विच निर्वाचन समितिका संयोजक सुदिप गौतमले सपथ ग्रहण गराउनुभयो भने निवर्तमान अध्यक्ष सविन प्रियासनले नवनिर्वाचित अध्यक्ष दुर्गालाल केसीलाई पदहस्तान्तरण र पदभार गराउनुभएको हो ।

कार्यक्रममा पदभार ग्रहण पछि बोल्दै नवनिर्बाचित अध्यक्ष केसीले १५ बुँदे कार्य योजना प्रस्तुत गर्नुभएको छ । पत्रकारहरुको क्षमता अभिबृद्धीका तालिम देखी ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने सम्मको कार्य योजना प्रस्तुत गर्नुभएको हो । त्यसैगरी, सदस्यता शुद्धिकरण गर्दै व्यवस्थित र जवाफदेही पत्रकारिताको विकास गर्ने, पत्रकार सुरक्षा कोष स्थापना गरी समस्यामा परेका पत्रकारलाई आपतकालिन सहायता उपलब्ध गराउने, ज्येष्ठ पत्रकार कोष स्थापना गरी पत्रकारितामै जीवन व्यतीत गरेका ज्येष्ठ पत्रकारलाई निर्वाह भत्ताको व्यवस्था गर्ने केसीले बताउनुभयो ।

यसैगरी, पत्रकार महिलाहरुको क्षमता विकास, सशक्तिकरण र पेशागत सुरक्षामार्फत पत्रकारितामा निरन्तरताको वातावरण निर्माण गर्ने, पत्रकारलाई श्रमजीवी पत्रकार ऐन अनुसारका सेवा सुबिधा उपलब्ध गराउन पहलकदमी गर्ने, अनलाईन पत्रकारितालाई विश्वसनीय र जवाफदेही बनाउने योजनाका साथ काम गर्ने उहाँको भनाई छ ।

साथै, विधागत पत्रकारिताको अभ्यासलाई प्रोत्साहन गर्दै पत्रकारितालाई खोजमुलक र गुणस्तरीय बनाउने र सूचनाको हक कार्यान्वयन गराउन सरोकारवाला निकायहरुसँग समन्वय र सहजिकरण गर्ने योजना रहेको अध्यक्ष केसीले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया